अन्तर्राष्ट्रिय

भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल

भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल
चैत २३ । 
भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २४ वर्ष जेल सजाय तोकेको छ । भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति पार्कलाई जेल सजाय तोकेको हो । 
 
शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै ‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ भनेका थिए । उनलाई अदालतले १७ मिलियन डलर जरिवाना समेत तोकिदिएको छ । अदालतका अनुसार पूर्वराष्ट्रपति पार्क माथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठर्हयाइएको छ । उनलाई यसअघि नै हिरासतमा लिइएको भएपनि  अदालतले फैसला सुनाउँदा त्याहाँ उपस्थित थिइनन् । 
 
तल्लो अदालतले सुनाएको यो फैसलाविरुद्ध पूर्वराष्ट्रपति पार्कले पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । अदालत परिसर बाहिर उनका सयौं समर्थक भेला भएका थिए । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । भ्रष्टाचार आरोपमा अपदस्थ हुनेमा पनि उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् । (एजेन्सी)