अपराध

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

धनगढी, २३ चैत, रासस
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । 
 
अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 
 
घटनामा संलग्न भएका धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाललाई भने साधारण तारेखमा रिहा गरिएको छ । गत फागुन २८ गते साँझ निवासमै गएको एक समूहले गरेको आक्रमणबाट घाइते हुनुभएका नगरप्रमुख चौधरीको उपचार जारी छ ।