निर्वाचन विशेष

कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी

कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी
धनगढी, २७ मंसिर (रासस) 
कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । 
 
गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उहाँका सहयोगी (पिए) हुनुहुन्थ्यो । राठौर हालै मात्र एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएको थियो । 
 
यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ । 
 
उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गर्नुभएको छ । 
 
प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ ।