प्रभास

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु
गौशाला, २४ चैत ।
महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । 
 
चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो । 
 
साथीहरुले आज बिहान ड्युटीका लागि उनलाई उठाउन जाँदा नउठेपछि उनको ढोका फोरेर हेर्दा उनी शौचालयमै लडेर मृत अवस्थामा फेला परेको भाइ सिकिन्दरले बताउनुभयो । मृतक मिथिलाको आमा, पत्नी, चार सानासाना छोरी र एक छोरा रहेका छन् । रासस