प्रभास

बेलायतबाट लिम्बूलाई सहयोग

 
काठमाडौँ, २८ कात्तिक । मानसिक असन्तुलनको कारण एक वर्षदेखि फलामको साङ्लामा बाँधिन बाध्य थर्कबहादुर लिम्बूको उपचारको निम्ति बेलायत, हङकङ र दक्षिण कोरियामा बस्ने नेपालीबाट रु ४६ हजार ५ सय २० हस्तान्तरण गरिएको छ । 
 
तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बूलाई उपचारका लागि धरान ल्याइएको बखत उनलाई समाजसेवी कमल तिगेला खेवाहाङको हातबाट रकम हस्तान्तरण गरिएको हो । लिम्बूको अवस्थाबारे भिडियो समाचार हेरेलगत्तै विश्वासदीप तिगेला र साथीहरुले सामाजिक सञ्जाल मार्फत सहयोग सङ्कलन अभियान सञ्चालन गर्नुभएको थियो । 
लिम्बुलाई साउन १८ गते बिपी कोइराला मेमोरियल अस्पताल धरानमा भर्ना गरिएको थियो । डा मधुर बस्नेत र डा आरती थापाको निगरानीमा उपचार सुरु भएको थियो । लिम्बूको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै आएको जनाइएको छ । रासस